Share

Share on Facebook

नदी सरसफाइमा युवा सक्रिय

2024-08-02

सप्तरीको भलुवाही खोलामा वौँदेखि थुप्रिएको फोहर स्थानीय युवाले सरसफाइ गरेका छन् । 'सरसफाइ तपाईंको हातमा, हामी युवा तपाईंको साथमा' भन्ने नारासहित युवा खोला सरसफाइमा जुटेका छन् ।

देशमा परिवर्तन गर्न युवाको आवश्यकता पर्दछ भन्ने सन्देश दिने उद्देश्यले प्रत्येक शनिबार स्थानीय खोला, नदी सरसफाइमा स्थानीय युवा सक्रिय हुँदै आएका सामाजिक संस्था सप्तरी युथ नेपालले जनाएको छ । सप्तरी युथ नेपालको आयोजना तथा राजविराज नगरपालिका र राजविराज यूथ कम्युनिटीको सहकार्यमा प्रत्येक शनिबार भलुवाही खोलासहित अन्य नदी तथा खोला सरसफाइ अभियानमा युवा जुटेका क्लबका कार्यवाहक अध्यक्ष मोहन यादवले बताए ।

खोलामा छरिएर रहेका फोहर, घाँस, नाला तथा खोलाभित्र वर्षीदेखि मानिसले फालेका नकुहिने पानीका बोतल, सिसा, फलामलगायत फोहरजन्य वस्तु निकालेर सफा गरिँदै आइएको उहाँले उल्लेख गरे । सप्तरी युथ नेपालको आयोजनामा थालिएको सरसफाइ अभियानको ११ औं सप्ताहमा पुगेको छ । कार्यवाहक अध्यक्ष यादवले जिल्लाको समग्र विकाससँगै राजविराजको मुख्य बजार हुँदै बग्ने भलुवाही खोलालाई व्यवस्थित गर्न लागिएको बताए ।

जलवायु परिवर्तनलाई मध्यनजर गरी राजविराज-८ स्थित खानेपानी डिभिजन कार्यालयबाट कनौली रोडको पब्लिक माध्यमिक विद्यालयसम्म सरसफाइ गरिएको जनाइएको छ । सो सँस्थाको स्रोत परिचालन गरेर खोला सरसफाइ थालिएको बताउँदै ४० जनाको समूहमा जेसिबी भाडामा लिएर सरसफाइ गर्ने गरिएको उनले बताए ।

कार्यवाहक अध्यक्ष यादवले भने, “समुदायलाई सफा, स्वास्थ्य बनाउन, पर्यावरणीय सन्तुलन कायम राख्न जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मीसहितको सहभागितामा सरसफाइ अभियानमा थालेका छौं । यसलाई निरन्तरता दिन नगरपालिकाले आर्थिक सहयोग गर्नुपर्ने हाम्रो माग हो ।”

एक वर्षभित्र भलुवाही खोला सरसफाइ सकेर वृक्षारोपण गर्ने योजना रहेको बताउँदै उनले यसमा सबैको सहयोगको अपेक्षा गरे ।

भलुवाही खोलामा सबै तिरबाट आएको फोहरका कारण वातावरणलाई प्रतिकूल प्रभाव पार्नुका साथै लामखुट्टे, किरापट्यांग्रा लगायतको जोखिम बढेको संस्थाका सचिव आयुष श्रेष्ठले बताए ।

खोलाको फोहरका कारण सामान्य वर्षा हुँदा पनि बाढीले राजविराज नगर क्षेत्र जलमग्न हुने गरेको स्थानीयले बताएका छन् । संस्थाले राजविराजस्थित सरकारी कार्यालय अगाडिका बाटोमा फूलका बिरुवा लगाउन थालेको छ । रुपनी बसपार्क, राज रंगशाला हुँदै राम मन्दिरसम्मको दुई किलोमिटर बाटोमा फूल लगाउन थालिएको संस्थाका सचिव श्रेष्ठले जानकारी दिए ।